डा. खगराज बरालको “मालामा नउलिएको फूलहरू” पुस्तक सार्वजनिक

118

काठमाडौं । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाइरहने सर्जक डा. खगराज बरालको “मालामा नउलिएको फूलहरू” पुस्तक सार्वजनिक भएको छ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा. शोभाखर पराजुली, पूर्वसचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका पुष्पराज पौडेल र लेखक डा. बरालले संयुक्त रूपमा विमोचन गर्नुभयो।

डा.शोभाखर पराजुलीले पुस्तक एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिदै जाने बताउनुभयो। पूर्वसचिव किशोर थापाले “मालामा नउलिएको फूलहरू” पुस्तकले डा. बरालका थप अनुभव र भोगाइलाई समेटेको उल्लेख गर्नुभयो।

पूर्वसचिव थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरिकन मसिना कुरारूबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पूर्व प्रकाशित पुस्तकले सङ्केत गरेको सम्झनुभयो।

विमोचन कार्यक्रममा नन्दी माध्यमिक विद्यालय, नक्सालकी प्रधानाध्यापक गीता काफ्लेले पुस्तक वैचारिक तथा व्यावहारिक रूप अलमलिएका र दोधारमा परेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताउनुभयो।

प्राध्यापक डा. जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताउनुभयो।

शाकुन्तल महाकाव्यभन्दा मुनामदन जनबोलीमा रहनुको रहस्य सरल र बोधगम्य हुनु हो भन्दै प्रा.डा. आचार्यले बरालका सिर्जना पनि सरल र बोधगम्य रहेको बताउनुभयो।

पुस्तकका निबन्ध आत्मपरक रहेका, यी निबन्ध विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु सान्दर्भिक देखिएका भन्दै यस पुस्तकका निबन्ध हरेक व्यक्तिका लागि पठनीय र लाभप्रद भएको उल्लेख गर्नुभयो।

लेखकले गैह्रआख्यान अनुभूति भन्न रुचाएको पुस्तकमा विभिन्न विषय र क्षेत्रका २० शीर्षकमा  लेखकका अनुभूतिजन्य सिर्जना रहेका छन्। ३२४ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ। शिखा बुक्सले बजारमा ल्याएको  पुस्तक आत्मपरक निबन्ध हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here