यी क्षेत्रमा मनसुन फैलियो

105

यो वर्षको मनसुनी प्रणाली चार प्रदेशमा सक्रिय भएको छ भने पश्चिमतिर सर्दै गएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार, जेठ २७ गतेको मध्यान्हसम्म प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन प्रवेश गरेको छ। देशका बाँकी भूभागमा केही दिनपछि मनसुनी प्रणाली प्रवेश गर्ने अनुमान गरिएको छ।

यस वर्षको मनसुन सरदर मिति भन्दा अघि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन भए पनि यस वर्ष भने ५ जुन (जेठ २२ गते) मै मनसुनी वायु प्रवेश गरेको थियो। नेपालमा पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेर क्रमशः पश्चिमतिर सर्दै जान्छ।

करीब चार महीना रहने मनसुनी अवधिमा वार्षिक हुने वर्षाको करीब ८० प्रतिशत वर्षा हुन्छ। देशको खेतीपाती आकाशे पानीमा निर्भर रहेकाले कृषिका मनसुन वरदान मानिन्छ। तर, मनसुनले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोप पनि सँगै लिएर आउँछ।

यस वर्षको मनसुन शुरू हुनेबित्तिकै देशका विभिन्न भागमा पहिरो, नदी कटानजस्ता विपद् शुरू भइसकेका छन्। हरेक वर्ष मनसुनमा प्राकृतिक प्रकोपमा परेर दर्जनौंले ज्यान गुमाउँछन्।

यो वर्ष मनसुनको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने विभागले अनुमान गरेको छ। सरदरभन्दा धेरै पानी पर्दा प्राकृतिक प्रकोपको जोखिम थप बढ्नसक्छ।
https://www.himalkhabar.com/news/130543

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here