रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

82

पूर्वसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ।

बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन्।

स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह र राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका हुन्।

‘‘स्वतन्त्र’ शब्दको आफैँमा महत्त्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ’, उजुरीमा भनिएको छ, ‘स्वतन्त्र’ शब्दको अर्थकै अपव्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौँ।’

लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

आजै ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले रवि लामिछानले आफ्नो नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिइसकेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here