आईसीसीका पदाधिकारीहरुबीच भेटवार्ता

57

काठमाडौं  ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) का पदाधिकारीहरुबीच भेटवार्ता भएको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री गहतराज र आईसीसीका पदाधिकारीहरुबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा मन्त्री गहतराजले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा आईसीसीले पुर्याएको योगदानको प्रशंसा गरेका छन्। ‘आईसीसीले नेपाली क्रिकेटको विकासमा खेलेको भूमिका प्रशंसनिय छ, आगामी दिनमासमेत थप सहयोगको अपेक्षा गर्दछौं।’ मन्त्री गहतराजले भने।

उनले नेपालमा क्रिकेट प्रति बढ्दै गएको आकर्षणले चुनौतीसँगै सम्भावना समेत बढेको उल्लेख गरे। विगतभन्दा नेपाली खेलाडीहरुको अवस्था सुध्रिएको उल्लेख गर्दै मन्त्री गहतराजले खेलाडी र खेल क्षेत्रको समग्र विकासमा सरकार गम्भीर भएर लागेको बताए। आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को प्रतिबन्ध फुकुवा गरेकोमा खुसी समेत ब्यक्त गरे।

भेटवार्तामा बोल्दै आईसीसी विकासका अध्यक्ष इमरान क्वाजाले नेपालमा क्रिकेटको धेरै ठूलो सम्भावना रहेको बताए। आफूले विगतदेखि नै नेपाली क्रिकेट क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै क्वाजाले पछिल्लो समय सरकारी संयन्त्रबाट समेत क्रिकेटको विकासकालागि प्रयासहरु भईरहेको भन्दै खुसी ब्यक्त गरे। उनले नेपाली क्रिकेटको विकासकालागि ठूला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

आइसीसीले समेत नेपालमा ठूला खालका प्रतियोगिता संचालनकालागि आवश्यक पहल गरीरहेको क्वाजाको भनाई थियो।

भेटवार्तामा आइसीसीका जेनेरल म्यानेजर विलियम्स ग्लानराइट, वित्त तथा सञ्चालन अधिकृत नितेशा कोठारी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको सहभागी थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here