धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन

169

काठमाडौं । नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन बुधबार मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा बुधबारदेखि ८७ वर्ष पुगेका छन्। उनी १४ औं दलाई लामा हुन्।

 

जन्मोत्सव कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको हो। तिब्बती समुदायले जाउलाखेलमा एक कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका हुन्।

विश्व शान्तिको कामना गर्दै नेपालमा रहेका तिब्बती समुदायले आफ्ना धार्मिक नेता लामाको जन्मदिन मनाएका हुन्। तिब्बती समुदायले तिब्बती परम्पराअनुसार दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका थिए। कार्यक्रममा तिब्बती समुदायका बालबालिकाले नेपालको राष्ट्रिय गान गाएका थिए।

विशेष समारोहमा नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख म्यानुअल पी. मिकलर, जापान, फान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका छन् । कोरोना संक्रमणको समयमा गुम्बाभित्रमात्र जन्मोत्सव मनाएका उनीहरुले यस वर्ष जाउलाखेलको खुला चउरमा भव्य कार्यक्रम गरेका हुन्।

राजनीतिक अभिप्रायले नभई धार्मिक आस्थाअनुसार आफ्ना धार्मिक नेता लामाको जन्मोत्सव मनाइएको दाबी तिब्बती शरणार्थी समुदायका अगुवाले गरेका छन्। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक नेता लामाको जन्मदिन मनाउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here