काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बस र सिनेमाको टिकट जस्तो नागरिकता बाँड्न नहुने जनाएका छन् ।
नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउनु पर्छ, यसको अर्थ बसको टिकट र सिनेमाको टिकट बाँडे जस्तो बाँड्ने हैन ।’ उनले नागरिकता समस्या समाधानका लागि भारतसँगको खुला सीमा बन्द गर्नु पर्ने बताए । सुवालले भने, ‘नेपाली सेनाले पनि सीमा बन्दको प्रस्ताव गरेको छ ।’
उनले सीमा बन्द गर्न ४७ अर्ब रुपैयाँ लाग्ने पनि बताए । ‘असार लागेपछि दिनमै २०–२२ अर्ब रुपैयाँ विकास खर्च भइरहेको छ, यो हिसाबले त दुई दिनको खर्चले त सीमाका काँडेतार लगाउन सकिने रहेछ नि ।’
उनले नेपालको भूराजनीति अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह नगर्ने बन्दोबस्त गर्न प्रस्ताव गरे । नेपालीसँग विवाह गर्ने विदेशीलाई २० वर्षपछि मात्र परीक्षा दिएर अस्थायी नगारिकता दिने व्यवस्था गर्न उनको माग छ । सांसद सुवालले संघ र प्रदेशको नागरिकता बनाउन पनि प्रस्ताव गरेका छन् । अन्य लिंगको नागरिकता चिकित्सा विज्ञानले प्रमाणित गरेपछि मात्रै दिने व्यवस्था गर्न पनि उनले माग गरे ।
















