अप्ठ्यारो भीरमा हर्क साम्पाङ, श्रमदानमा सयौँ सहभागी

77

धरान २० मा रहेको पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै श्रमदानमा जुट्छन् ।

यो अभियानले धरानको वडा नम्बर ११ मा देखिने पानी अभाव टार्न सकिने सर्वसाधारण बताउँछन् । तर, श्रमदानमा ११ नम्बर वडाका मात्रै होइन धरानका प्रायजसो सबै वडाका मानिस त्यहाँ पुगेका छन् ।        साम्पाङ आफैँ पाइप तान्न अप्ठ्यारो भीरमा पुगेका छन् । उनको साथमा सर्वसाधारणहरुले काम गरिरहेका छन् । हालसम्मको श्रमदानबाट मुहानमा सानो २ वटा ट्याङ्की निर्माण गरिएको छ भने झण्डै डेढ किलोमिटरसम्म पाइप टाँगिएको छ । शनिबार पनि साम्पाङसँगै सर्वसाधारण पहिरो गएको अप्ठ्यारो ठाउँमा पाइप तान्न व्यस्त थिए । ‘खुसीको कुरा के भने मैले जनतालाई विकाससँग जोड्न सकेजस्तो लाग्छ । यो काम भनेको हरेक जनतालाई मेरो आफ्नो पनि हो भन्ने लागेको छ, यस्तो इतिहासमा कहिल्यै पनि भएको थिएन,’ धरानका प्रमुख साम्पाङ भन्छन् ।

धरानको सर्दु खोलाबाट पम्पिङ गरेर पानी तान्दा मात्रै मासिक ३० लाखसम्म बिजुलीको बिल उठ्ने गरेको र वार्षिक खर्च करोडौं हुने गरेको साम्पाङ बताउँछन् । त्यही खर्चलाई घटाउनका लागि पकुवा खोला तथा अन्य धेरै खोल्सीको पानी जम्मा गर्ने आफ्नो योजना रहेको उनी सुनाउँछन् ।       ‘पम्पबाट पानी तानेर लैजाँदा बिजुलीको बिलमात्रै मासिक ३० लाखसम्म तिर्नु परेको देखिएको छ । ६ महिनामा हामीले १ करोड ५३ लाखको बिल तिरेको पायौँ । पम्प मर्मत गर्दा, कुरुवालाई राख्दा अन्य खर्च हुँदा करोडौं खर्च हुने गरेको देखियो,’ उनी भन्छन्, ‘धरानको पैसा बचाउनका लागि पनि यो विधि अपनाएको हो ।’    उनले चालेको अभियानमा अन्य जनप्रतिनिधिहरू भने उपस्थित थिएनन् । पार्टीका नेताहरूलाई पनि आफूले बोलाएको तर नआएको उनको भनाइ छ ।

धरान १५ बाट श्रमदान गर्न आएका ङिमा शेर्पा आफूहरुले पानी अभावका कारण धेरै समयदेखि दुःख पाइरहेको बताउँछन् । ‘धराने जनताको टाउकोमा बल्ल घाम लागेजस्तो भयो । पानी अभाव भएर हामीले धेरै दुःख पाएका थियौं । जितेर यसअघि गएकाले कुनै काम नै गरेनन् । अहिले बल्ल काम हुन्छ कि भन्ने आशा जागेको छ,’ उनले भने ।     धरान १५ कै केशव घिमिरे हुन् या धरान १७ का देवराज राई हुन् उनीहरू पनि हर्क साम्पाङलाई सहयोग गर्न आफूहरू पनि श्रमदानमा जुटेको बताउँछन् । ‘यो अभियानले ११ नम्बर वडालाई पकुवा खोलाको पानीले पुग्ने देखिन्छ । अरू स्रोत पनि पहिचान गरेर काम गर्नुपर्छ । दीर्घकालीन हिसाबले भने कोशीको पानीलाई नै धरान ल्याउनुपर्छ जस्तो लाग्छ,’ घिमिरेले साम्पाङलाई सुझाव दिन्छन् ।   धरानका प्रमुख हर्क साम्पाङलाई सहयोग गर्न आफू आएको राईले बताए । उनले वर्षामा ट्याङ्कीमा पानी नअट्ने र हिउँदमा पानी नहुने समस्या धेरै समयदेखि रहेको कारण उक्त समस्या हल हुन्छ कि भनेर काम गर्न आएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here