बाघको संख्या बढाउन सफल भएकोमा नेपाललाई हलिउड अभिनेता लियोनार्दोले दिए बधाई

59
एजेन्सी । हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले बाघको संख्या लक्ष्यभन्दा धेरै बढाउन सफल भएकोमा नेपाललाई बधाई दिएका छन्।

उनले विश्व बाघ दिवसका अवसरमा शुक्रबार आफ्नो फेसबुक र ट्विटरमार्फत नेपाललाई बधाई दिएका थिए । उनले आफ्नो बधाई सन्देशमा लेखेका छन्, ‘आज विश्व बाघ दिवस। नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने आफ्नो प्रतिबद्धता पूरा भएको घोषणा गरेको छ। सन् २०२२ को सर्वेक्षणअनुसार नेपालमा अहिले ३५५ वटा बाघ छन्। यो २०१० को तुलनामा १२१ बढी हो। यस्तो प्रभावशाली सफलताका लागि नेपाललाई बधाई छ।’

नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो। शुक्रबार सार्वजनिक नेपालको बाघ गणना तथ्यांकअनुसार अहिले ३५५ वटा बाघ छन्। हलिउड अभिनेता लियोनार्दो पछिल्ला १२ वर्षमा सरकारद्वारा सञ्चालित संरक्षण कार्यक्रम, विश्व वन्यजन्तु कोष, स्थानीय समुदाय लगायत साझेदारहरूको सहयोगमा यो उपलब्धि हासिल भएको उल्लेख गरेका छन्।

सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। त्यसै वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो। उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल गएका थिए। उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो बाघ संख्या दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यति बेला नेपालमा १२१ वटा बाघ थिए।

बाघको संख्या बढाउन उनीहरूलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनुपर्थ्यो। सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप्यो। अहिले नेपालमा भएकामध्ये पर्सामा ४१, चितवनमा १२८, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ३६ वटा बाघ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here