दाहाल र नेपालले आफ्नो सरकार ढाल्नका लागि कांग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप

77

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन्।  दाहाल र नेपालले आफ्नो सरकार ढाल्नका लागि कांग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो।   पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २३ सिटमा खुम्चिएको कांग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भए पनि दाहाल–नेपालले मुलुकबाट वामपन्थी शक्ति सिध्याउने गरी कांग्रेसलाई साथ दिएको जिकिरसमेत गरे।  ओलीले भने, ‘२३ सिटमा पुर्‍याएको कांग्रेसले हामीतिर लड्ने त होइन, लडने कुरा छाडिदिउँ, सोझो हेर्ने अवस्था पनि थिएन। यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालिपाउँ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन्। कांग्रेसको बिँड हेर्नुस् त कस्ता छन्? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन्, के–के नामका छन्? बञ्चरोले मात्रै रुख ढाल्न सक्दैन। माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बिँड नभइ आफ्नो पार्टी आउन आग्रह गर्दछु। कांग्रेसको बिँड भएर कम्युनिष्ट आन्दोलनलाई ढाल्दै जाने र समाजवाद निर्माण गर्ने भूलभूलैयामा नफस्नुस्। वामपन्थी आन्दोलन सफल पारौँ।’  ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि दोहोर्‍याए। मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्दै उनले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीको सिंगो पंक्तिलाई सचेत गराए।  अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन पनि सबैलाई आग्रह गरे। विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनको जिकिर थियो।  ओलीले पार्टी बिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने तर्कसमेत गरे।  ‘बेलायतमा पार्टी चाहिन्छ। फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ। जापानमा चाहिन्छ, भारतमा चाहिन्छ। पाकिस्तानमा पार्टी चाहिन्छ। जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि। यहाँ चाहिँ फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन्। एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला। स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ? अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ। अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ। सरम लाग्नुपर्ने हो। यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरुको तरिका हो। यसबाट सतर्क हुनुपर्छ,’ ओलीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here