जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने प्रशिक्षक हुमागाईंको प्रतिबद्धता

61

काठमाडौं । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने जनाएका छन्।

असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता उनले जनाएका हुन्। सातोदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईंले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको जनाए ।

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाउनुभएका हुमागाईंले मैत्रीपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा विवादबाट बाहिरिएका १० खेलाडीलाई पनि समेटेका छन्।

पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले उनीहरुलाई स्थान दिएका हुन्।

बंगलादेशसँगको खेलमा जितका लागि कर्मभूमी छोडेर जन्मभूमी आएको बताउँदै प्रशिक्षक हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीच रहेको विवादको बारेमा आफू बोल्न आवश्यक नरहेको जनाए।

उनले आफ्ना लागि सबै खेलाडी समान रहेको बताउँदै छिट्टै सानो आकारको टोली सार्वजनिक गर्ने समेत बताए।

बोलाइएका खेलाडी बिहीबारदेखि एन्फामा उपस्थित हुन थालेका छन् । प्रशिक्षक हुमागाईंले शुक्रवारबाट अभ्यास गराउने बताएका छन्। एएफसी ‘ए’ लाइसेन्स गरेका प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको विषयमा भने एन्फा प्रवक्ता सुरेश शाहले प्रक्रियाबाटै नियुक्त गरेको जनाए ।

एन्फाले मुख्य प्रशिक्षक बिदामा भएको अवस्थामा अन्तरिम प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो ।

प्रवक्ता सुरेश साहले मुख्य प्रशिक्षक अल्मुताइरीको विषय समाधानका लागि एन्फा प्रक्रियामा रहेको जनाए ।

प्रवक्ता आउने/नआउने विषयमा अहिले नै भन्न हतार हुने समेत जनाए ।

हुमागाईंको प्रशिक्षणमा नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशबिरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोलीको जिम्मेवारी हेनर्का लागि अमेरिका बस्दै आउनुभएका हुमागाईँ बुधबारमात्र नेपाल आएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here