लामिन यामल र लियोनल मेसीको पुरानो तस्बिर वास्तविक

2

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन यामल र अर्जेन्टिनाका फुटबल आइकन लियोनल मेसीको पुरानो तस्बिर वास्तविक भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पुष्टि गरेको छ । विश्वकपको फाइनल खेलमा तिनै बालक यामल र मेसीबीच मैदानमा रोचक प्रतिस्पर्धा हुन लागेपछि यो ऐतिहासिक तस्बिरको चर्चा विश्वभर चुलिएको हो ।

युनिसेफले सामाजिक सञ्जालमा पोस्ट गर्दै झन्डै १८ वर्षअघि एक परोपकारी फोटोसुटका क्रममा यी दुई स्टारबीच भेट भएको खुलासा गरेको हो ।

पुरानो त्यो संयोग
युनिसेफका अनुसार सन् २००७ डिसेम्बरमा आयोजित एक च्यारिटी फोटोसुटमा शिशु अवस्थाका यामल र उनकी आमा शीलाले मेसीलाई भेटेका थिए । त्यतिबेला मेसी भर्खरै विश्व फुटबलमा आफ्नो बलियो पहिचान बनाउँदै थिए भने यामल मात्र केही महिनाका शिशु थिए ।

फोटोग्राफर जोआन मोनफोर्टले खिचेको उक्त तस्बिरमा युवा मेसीले एउटा प्लास्टिकको टबमा रहेका बालक यामललाई नुहाइदिइरहेको र मुस्कुराइरहेको देख्न सकिन्छ । वर्षौँसम्म ओझेलमा रहेको यो तस्बिर यामल फुटबलको विश्वमञ्चमा उदाएसँगै सार्वजनिक भएको हो ।

मैदानभित्र प्रतिद्वन्द्वी, मैदानबाहिर सहयात्री
अहिले विश्वकपको फाइनल खेलमा यी दुई आमुन्ने-सामुन्ने हुँदै गर्दा यो तस्बिरलाई धेरैले एउटा ‘महान् विरासत हस्तान्तरण’ को रूपमा व्याख्या गरेका छन् । मैदानमा यी दुई उपाधिका लागि भिड्दै गर्दा मैदानबाहिर भने उनीहरू एउटै उद्देश्यका लागि काम गरिरहेका छन् ।

मेसी र यामल दुवैजना हाल युनिसेफका सद्भावना दूत हुन् । उनीहरूले आफ्नो लोकप्रियता र पहिचानलाई विश्वभरका बालबालिकाको अधिकार, सुरक्षा र उनीहरूको क्षमता विकासका लागि प्रयोग गर्दै आएका छन् ।

युनिसेफले आफ्ना यी दुई सद्भावना दूतको उपलब्धिलाई लिएर गर्व व्यक्त गरेको छ । “मैदानमा उनीहरूको उपलब्धिले करोडौँलाई प्रेरित गरेको छ भने मैदानबाहिर उनीहरू संसारका हरेक बालबालिकाको सुनौलो भविष्यका लागि आवाज उठाइरहेका छन्,” युनिसेफले भनेको छ, “उनीहरू हाम्रो हामीसँग रहेकोमा हामीलाई गर्व छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here