काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठान गरी मनाइँदैछ।
सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। आजैदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुने धार्मिक मान्यता छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ।
साउने सङ्क्रान्तिसँगै कृषिमा संलग्न अधिकांश नेपालीले असारभरि खेतबारीमा काम गर्दा लागेको हिलोमैलोका कारण हुन सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ ‘लुतो फाल्ने’ परम्परा पनि निर्वाह गर्छन्। संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यो परम्परा स्वास्थ्य र लोकविश्वाससँग जोडिएको सांस्कृतिक अभ्यास हो।
परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी ‘कण्डारक’ नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन छ। यस अवसरमा कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने प्रचलन पनि विभिन्न स्थानमा कायम रहेको छ।
साउन महिनालाई भगवान् शिवको विशेष पूजा–आराधनाको महिनाका रूपमा पनि लिइन्छ। यस महिनाभर विशेषगरी सोमबारका दिन शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ। महिलाले हरियो चुरा, हरिया वस्त्र तथा मेहन्दी लगाएर प्रकृतिप्रतिको आस्था र हरियालीको प्रतीकस्वरूप साउने परम्परा मनाउने चलन पनि छ।
साउने सङ्क्रान्तिका अवसरमा पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।

















