नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु

99

काठमाडौं । नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा परेको असरबारे विगत ३० वर्षको तथ्यांक संकलन र विश्लेषण गरी सुझावसहित तयार पारेको ‘हेल्थ इम्प्याक्ट अफ टोब्याको इन नेपाल’ नामक अनुसन्धानात्मक प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरिएको छ ।

सो प्रतिवेदन नेपाल चिकित्सक संघले हालै आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले विमोचन गर्नुभएको थियो ।प्रतिवेदनले विगत ३० वर्षमा नेपालमा धुम्रपान गर्नेको संख्या ३२ प्रतिशतले बढेको र यसैका कारण २० प्रतिशत मानिसको मृत्यु हुनु गरेको जनाएको छ । प्रतिवेदनका अनुसार नेपालमा वर्षेनी धुम्रपानबाट ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको छ भने विगत ३० वर्षमा धुम्रपानबाट हुने मृत्युमा ६० प्रतिशतले वृद्धि भएको छ । नसर्ने रोगका कारण हुने मृत्युमध्ये हरेक ५ जनामा एक जनाले धुम्रपानकै कारण मृत्यु वरण गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल दक्षिण एसियामा धुम्रपानबाट सबैभन्दा बढी मृत्यु हुने देश बन्न पुगेको छ । तथ्यांकलाई केलाउँदा सुर्तीजन्य पदार्थ सेवाका कारण हुने मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको छ । ३० वर्ष अगाडि नेपालमा सुर्तीजन्य पदार्थबाट मृत्यु हुनेको संख्या श्रीलंकाभन्दा कम रहेकोमा हाल श्रीलंका भन्दा दोब्बर भएको बताइएको छ । नेपाल धुम्रपानबाट मृत्यु हुनेमा विश्वका २ सय ४ देशमध्ये १९ औं स्थानमा छ तर मृत्यु अनुपातको हिसाबमा भने सबैभन्दा अगाडि रहेको छ ।

प्रतिवेदनमा दक्षिण एसियामा नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर तिर्ने देश चिनिने उल्लेख छ । सरकारले नेपालमा सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत कर निर्धारण गरेको छ । विश्व स्वास्थ्य संघले भने ७५ प्रतिशत कर लगाउनुपर्ने सिफारिस गरेको छ तर कार्यान्वयन भएको छैन । सुर्तीजन्य पदार्थमा श्रीलंकाले ७७ प्रतिशत र छिमेकी मुलुक भारतले ५८ प्रतिशत कर लगाएको छ ।

यही रफ्तारमा अघि बढेमा सन् २०५० सम्ममा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट १३ लाख ४० हजार मानिस अर्थात प्रतिवर्ष ५२ हजारको ज्यान जाने अनुमान गरिएको छ ।प्रतिवेदनमा सुर्तीजन्य पदार्थबाट जनस्वास्थमा पर्ने असरलाई कम गर्न सुर्तीजन्य पदार्थमा राजश्व वृृद्धि गर्ने, चुरोटको खुल्ला खिल्ली बेच्न प्रतिबन्द भएको नियमलाई कडाइका साथ लागु गर्ने, राज्यबाट सञ्चालित जनकपुर चुरोट कारखाना पुनः खोल्ने निर्णय फिर्ता गर्नुपर्ने र विद्यालय, अस्पताल तथा सरकारी अड्डाको १ सय मिटरभित्र सुर्तीजन्य सेवन र बेचबिखनमा लगाइएको प्रतिबन्ध नियम कडाइका साथ लागु गर्नुपर्ने सुझाव दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here