कामपाले तिहारमा पनि अत्यावश्यक सेवाका काम निरन्तरता दिने

45

काठमाडौं । काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरूसँग बैठक गर्दै अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताउनुभयो ।

पर्व बिदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न मिल्दैन । यसलाई नियमित गरौँ । उहाँले भन्नुभयो, ‘‘पर्वपछाडि हामीले धेरै काम गर्नुपर्नेछ । त्यसैले कसैले पनि बिदामा बस्ने सोच नबनाउनुहोला ।’’

बैठकमा सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग गरिएको सम्झौता, महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधाको सहजीकरणको लागि वियोन्डका दायित्वका विषयमा जानकारी गराइएको थियो ।

यसैगरी, कर्मचारी स्वास्थ्य बीमालेखका विषयमा छलफल भएको थियो । जोखिममा काम गर्ने कर्मचारीहरूलाई प्राथमिकतामा राखेर गरिने स्वास्थ्य बीमालेखअन्तर्गत दुर्घटना बीमा, महामारीजन्य बीमा, ठूला रोगका लागि गरिने बीमा, सामान्य उपचारका लागि गरिने खर्चसम्बन्धी बीमा, अस्पताल भर्ना हुनु नपर्ने तर महँगो शुल्क तिरेर गरिने उपचार पद्धतिका लागि गरिने बीमा जस्ता विषयमा छलफल भएको थियो ।

यस अघि बिदामा रहनु भएका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालसँग बैठकमा कार्यसम्पादन सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here