काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।
बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो ।
विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको श्रेष्ठले सुनाए । जंगलमा आहाराको कमि भएपछि चितुवा मानव बस्तीतिर आहाराको खोजिमा आउने गरेको जानकार जनाउँछन् ।
काठमाडौं आसपासका जंगलहरु चितुवाको बासस्थान भएको बताउँछन वन्यजन्तु विषयका जानकार युवराज भट्टराई । भन्छन्, ‘काठमाडौं आसपासका जंगल चितुवाको बासस्थान हो । बुढो, घाइते र बच्चा पाएका चितुवाहरु सजिलै मार्न सकिने शिकारको खोजीमा शहर छिर्छन ।’यस्तै जंगलमा चिसो बढेकाले न्यानो खोज्दै चितुवा पारिलो ठाउँ खोज्ने क्रममा पनि झुक्किएर शहर छिर्ने गरेको वन्यजन्तु विज्ञहरु बताउँछन् । वन तथा भु–संरक्षण विभागकी वन्यजन्तु संरक्षण शाखाकी वन अधिकृत सबनम पाठकले भाले चितुवाबाट जोगाउनका लागि माउ चितुवा बच्चासहित शहर नजिकका जंगल छिर्ने गरेको बताइन ।
भन्छिन्, ‘भाले चितुवाबाट बच्चा जोगाउन माउ चितुवा शहर नजिकका जंगल छिर्छन् ।’ बच्चा साथमा भएको माउ चितुवा अन्य चितुवाभन्दा बढी आक्रामक हुने पनि उनले सुनाइन् । विश्वविद्यालय परिसरमा देखिएको चितुवालाई जंगल पठाउन विभागले काम सुरु गर्ने पनि उनले सुनाइन । उनले भनिन्, ‘बच्चा सहितको चितुवा अलि धेरै आक्रामक हुन्छ । यससँग जोगिनुपर्छ ।’


















