चार पटकको विश्वविजेता जर्मनीले विश्वकप फुटबलमा खराब सुरुवात गरेकाे छ। बुधबार बेलुकी भएको खेलमा जर्मनी एशियन पावर हाउस जापानसँग स्तब्ध भएको हो। जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो।
जापानको जितमा रिस्तु डोङ र ताकुमा एसोनाले गोल गरे। जर्मनीका लागि इल्के गुएन्डोगनले एक गोल गरे। खेलको ३३ औँ मिनेटमा गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेर जान दिएनन्।
डोङ ७१ औँ मिनेटमा एओ तनाकाको स्थानमा मैदान छिरेका थिए। खेलको ८३ औँ मिनेटमा ताकुमाले गोल गर्दै २–१ को अवस्थामा ल्याए। त्यसअघि खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए। खेलको १४ औँ मिनेटमा जर्मनका किमिच जोशुआको प्रहारले पोष्टको दिसा दिन सकेन।
१७ औँ मिनेटमा एन्टोनियो रुडिगरको सशक्त प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। २० औँ मिनेटमा किमिच जोशुआको अर्को प्रहार गोलमा परिणत हुन सकेन।
खेलको २८ औँ मिनेटमा जर्मनका इल्के गुएन्डोगनले गरेको प्रहार जापानका गोलरक्षक शुची गोंडाले बचाए। गएको विश्वकपमा जर्मन समूह चरणबाटै बाहिरिएको थियो। जापान भने अन्तिम १६ सम्म पुगेको थियो। २०१४ मा जर्मनीले विश्वकप जित्दा जापान भने समूह चरणबाटै बाहिरिएको थियो।


















