‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ भन्ने नारासहित गर्न लागिएको यो १५औँ संस्करणको औद्योगिक प्रदर्शनी भएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष तथा प्रदर्शनी आयोजक मूल समितिका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पूर्वाधार निर्माण तथा स्टल दर्ता प्रक्रियाको काम भइरहेको सदस्य सचिव हरिबहादुर खत्रीले बताउनुभयो । सङ्घका कार्यकारी अधिकृत यादव भण्डारीका अनुसार प्रदर्शनी सम्पन्न गर्नका लागि विभिन्न ३१ वटा विषयगत समिति गठन गरिएको छ । साथै हालसम्म सयभन्दा बढी स्टल दर्ता भइसकेका छन् ।
मूल समितिका सहसंयोजक दिलीप सापकोटाको संयोजकत्वमा गठित स्टल दर्ता उपसमितिका सहसंयोजक महेश थैवका अनुसार नयाँ व्यवस्थापनका साथ आयोजना हुन लागेको प्रदर्शनीमा समावेश गरिने उद्योग प्रतिष्ठानका उत्पादन पनि उत्कृष्ट हुनेछन् ।
प्रदर्शनीमा नयाँ उत्पादन र प्रविधिको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइनेछ । प्रदर्शनीमा करिब चार सय स्टल राखिने र प्रकृति अनुसार छुट्टाछुट्टै पेभिलियनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । स्वदेशी उद्योगको संरक्षण गर्नुपर्ने सन्देश आमरुपमा फैलाउनुपर्ने दायित्वसँगै उद्योगीले आफ्ना उत्पादनको उचित मूल्य र गुणस्तरीय उत्पादन उपभोक्तामाझ पु¥याउन एक साझा थलोका रुपमा विकास गरिएको प्रदर्शनीमा कुनै प्रकारको कमी हुन नदिने गरी तयारीका काम अगाडि बढाइएको मूल समितिका संयोजक पौडेलले बताउनुभयो । रासस


















