काठमाडौँ । संघीय संसद्को एक कार्यकाल पूरा भएको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसद्को कार्यकाल शुरु हुने तरखरमा छ।
मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ। निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन। नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ।
मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसद्मा दर्ता भएका विधेयक अब के होलान् ? भन्ने चासो र चिन्ता छ। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसद्मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताए। उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन विधेयकहरू निष्क्रिय भइसकेको बताए। उनले राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट शुरु हुने स्पष्ट पारे।
राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन विधेयकहरू १२ वटा छन्। सहायक प्रवक्ता धमलाले राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको जानकारी दिए। उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनुपर्ने र ति विधेयकहरूको पुनः नयाँ प्रक्रिया (जिरोबाट) शुरु हुने बताए।
‘संघीय संसद्को एक कार्यकाल पूरा भएको छ। यो चरणमा संघीय संसद्मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भएका छन्। प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय हुने भन्ने व्यवस्था छ। तर राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामै विचाराधीन विधेयकहरू १२ वटा छन्। ती विधेयकहरू विचाराधीन अवस्थामा नै छन्। अधिवेशन शुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट शुरु हुन्छन्। तीभन्दा बाहेकका अरू सबै विधेयक निष्क्रिय भए’, उनले भने, ‘यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाह्यो, फरक ढंगले ल्याउन चाह्यो वा कुनै पनि विधेयक संघीय संसद्मा दर्ता गर्न ल्याए फेरि ती विधेयकहरूको नयाँ प्रक्रिया शुरु हुन्छ। जिरोबाट शुरु हुन्छ। राष्ट्रियसभाबाट आएका राष्ट्रियसभाबाट नै अघि बढ्छन्, प्रतिनिधि भाबाट आए प्रतिनिधिसभाबाट नै अघि बढ्छन्।’
सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रियसभाबाट आए राष्ट्रियसभाबाट नै अघि बढ्ने र प्रतिनिधिसभाबाट आए प्रतिनिधिसभाबाट नै अघि बढ्ने प्रावधान
रहेको पनि बताए।

















