, चितवन । चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ ।
कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका फिजिसियन डा. गौरीराम महतोले जानकारी दिए ।
बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गतेको विवाह समारोहमा सहभागी भएका थिए । बिहे भोज खाएका दुलाहा पक्षका २५० जना जन्ती र केही दुलही पक्षका बिरामी परेका छन् । जन्तीमा सहभागी गैंडाकोटका सविन लम्सालले भोजमा सहभागीमध्ये दुवै तिरका गरेर ३ सय जना बिरामी परेको बताए । दुलाहा र दुलहीलाई पनि पखाला लागेको लम्सालले जानकारी दिए ।
होटलका प्रवन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरु बिरामी परेको जानकारी पाएको र घटनाबारे बुझिरहेको बताए ।


















