पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिए

66

पाल्पा ।  तानसेन नगरपालिका–४, बारुदखानामा घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएका छन् । पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् ।

नेपाली सेनाको जग्गा भएको र उक्त जग्गामा अतिथि गृह निर्माण गर्न घडेरी खन्ने क्रममा गोला भेटिएको जानकारी पाएको प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ३०० भन्दा बढी तोपका गोला फेला परेको प्रहरीले जनाएको छ । ‘अझै पनि संकलन गर्ने क्रम जारी रहेको छ,’ उनले भने ।

तोपका गोला भेटिएको जग्गा नेपाली सेनाको हो । २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणमा गोलाखाना घर भत्काएका थिए । त्यही ठाउँमा सोमबारदेखि नेपाली सेनाले अतिथि गृह निर्माणका लागि घडेरी खनिरहेको छ । सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । अहिले ती गोला तानसेनस्थित द फेमस महिन्द्र दल गणले संकलन गरेको उनले बताए । ‘माथिल्लो भागमा ढलान गरिएको र तल्लो एक लेयरमा गोलाहरु भेटिएको छ,’ उनले भने, ‘यसलाई संकलन गरेर सेनाले सुरक्षित गरेको छ ।’

इतिहासविद् निर्मल श्रेष्ठका अनुसार पहिला यहाँ झिँगटीले छाएको गोलाखाना घर थियो । यस क्षेत्रमा पाल्पा अस्पतालबाहेक घर थिएन । तोपका गोलाहरु बजारभन्दा केही टाढा राखिएको थियो । यहाँ पहिले नेपाली सेनाको एक टुकडी बस्ने गर्दथ्यो । ‘जे छ त्यही जोगाउनका लागि गरेको ढलानले गर्दा पुरिएको हुनुपर्छ,’ उनले भने, ‘त्यसका विषयमा कसैले खोजीनीति नै नगर्दा पनि अहिले अचम्म मानेको हुनुपर्छ ।’

इतिहासविज्ञ श्रेष्ठका अनुसार भीमसेन थापाको पालामा सेनाले गोला, बारुद, हतियार बनाउने फ्रान्सबाट सहयोग लिएको थियो । पृथ्वीनारायण शाहका पालामा पनि हातहतियार बनाउने तालिम दिइन्थ्यो । त्यसबेलामा पाल्पा गौडा शक्तिशाली थियो । ‘यहाँ हातहतियार, तोपका गोला, बारुद सबै बनाउने गरिन्थ्यो,’ उनले भने, ‘त्यसैले तानसेनमा पनि बारुदखाना, सिलखाना, गोलाखाना टोल नै छन् ।’

पाल्पामा त्यसबेलाका नेपालभरका २६ मध्ये चार पल्टन पाल्पामा थियो । भवानीदल, बरख, इन्द्रध्वज र सवुज गण यही थियो । पाल्पा गौडाबाट पश्चिम क्षेत्रमा हातहतियार आपूर्ति हुन्थ्यो । उनका अनुसार हालको नेपाल टेलिकमनजिकै हतियार बनाउने अड्डा थियो । गोला राख्न गोलाखाना निर्माण गरिएको थियो । बारुद पनि तानसेनकै घरेलुनजिकै बनाउने गरिन्थ्यो । सिलखाना (जिल्ला प्रशासन कार्यालय रहेको स्थान) मा पनि हतियार राखिन्थ्यो । जहाँ फौज थियो त्यही यस्तो तोप, हतियार, बारुद बनाउने कारखाना रहेको उनले बताए ।

राणाकालीन अवस्थामा राखिएका तोपका गोला हुनुपर्ने उनले बताए । हाल पाल्पा अस्पतालनजिकै मोहनकन्याको छात्रावासबाट तोप दैनिक पड्काउने गरिन्थ्यो । २०१८ सालदेखि तोप दैनिक पड्काउन बन्द भएको हो । जिल्लाकै मदनपोखराको छापमा बागलुङबाट ल्याएका गोलनदारहरूको सात घर बस्ती पनि छ । २९ घर फलाम खानीमा काम गर्नेहरुसमेत रहेको उनले बताए । ‘छापको पश्चिमतर्फको ओडारमा फलाम निकालिन्थ्यो,’ उनले भने, ‘त्यहीबाट बनाएर तानसेन ल्याइन्थ्यो ।

भीमसेन थापाको पालादखि नै तोपमा राख्ने गोला बनाएको इतिहास पढ्न पाइने उनले बताए । सैनिक सामरिक स्थान भएकाले यस्ता तोपका गोला भेटिनु सामान्य भएको श्रेष्ठ बताए । सैनिकहरू बस्ने ठूलो क्षेत्र भएकाले पनि सैनिक सामरिक स्थान भएकाले तोपका गोलाको सेनाले संकलन गरेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here