काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान रहेको बताएका छ्न्।
कांग्रेसका सस्थापक नेतासमेत रहेका भट्टराईको ९८ औँ जन्मोत्सवका अवसरमा ललितपुर बाडेगाउँस्थित भट्टराईको आश्रममा शनिबार आयोजित कार्याक्रममा देउवाले यस्तो बताएका हुन्।
‘किसुनजी विसं २००३ देखि नै राजनीतिमा हुनुहुन्थ्यो। मुलुकका महत्त्वपूर्ण राजनीतिक घटनामा उहाँको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका थियो। त्याग र राजनीतिक चतुर्याइँ थियो। मुलुकको पहिलो सभामुखको भूमिका स्मरणीय छ’, देउवाले भने।
उनले ‘किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान’को समेत उद्घाटन गरेका थिए।
देउवाले जेष्ठ नागरिकको नि:शुल्क उपचार थालेकाेमा खुसीसमेत व्यक्त गरे।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सन्तनेता भट्टराईको त्याग र योगदानमा ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिन सम्भव भएको बताए।
जेष्ठ नागरिक पुन्याआर्जन फाउन्डेसनका सयोजक डा. सुशील कोइरालाले किसुनजीकाे दन्त चिकित्सकको रूपमा काम गर्न पाएको स्मरण गरे।
वृद्धवृद्धाकाे उपचार गर्दा उनीहरूको मनोविज्ञान पनि बुझेर काम गर्नु पर्ने उनको सुझाव छ।
मुलुकमा जेष्ठ नागरिकको उपचार गर्ने चिकित्सक अत्यन्तै कम भएकोले चिकित्सक उत्पादन गर्न सरकार र निजी क्षेत्र दुवैको भूमिका हुने बताए।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत लगायत उपस्थित थिए।
कार्यक्रमको सञ्चालन मनोज दाहालले गरेका थिए।


















