पुसकाे अन्तिम सातादेखि एनभीए क्लब च्याम्पियनसिप भलिबल हुने

47

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता पुस २४ देखि माघ १ गते सन्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुनेछन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँबजार सामाजिक युवा क्लब, दाँवाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिवल क्लब, बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र शैलुङ बागढुङ्गा युवा क्लब, रामेछाप गरी १५ टिमहरुबीच प्रतिस्पर्धा हुनेछ ।

पुस १९ गतेसम्म टिम दर्ताको समय रहेकोले अझै टिम संख्या बढ्न सक्ने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।महिलातर्फ एपीएफ, नेपाल प्रहरी, त्रिभुवन आर्मी, न्यू डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब, बुटवल गरी ८ टिमहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार ९महिला र पुरुष० रुपैयाँ पुरस्कार पाउनेछन् भने विधागत तर्फ उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमध्ये वरियताको आधारमा पुरुषतर्फ उत्कृष्ट ८ टिम र महिलातर्फ ६ टिमले सातौं आरबीबी(एनभीए क्लब लिगमा स्थान बनाउनेछन् । यो प्रतियोगितामा हरेक टिमले बढीमा तीन जना विदेशी खेलाडी टिममा राख्न पाउनेछन् । खेलको स्तर विकासका लागि विदेशी खेलाडीलाई पनि समावेश गर्न लागेको संघका महासचिव रोशन श्रेष्ठले बताए ।

यो प्रतियोगिताको कुल बजेट करिब ४६ लाख रहेको श्रेष्ठले जानकारी दिए । त्यसमा नेपाल सुपर लिगको आयोजकले २५ देखि ३० लाख सम्म सहयोग गर्ने पनि उनले बताए । बाँकी बजेट विभिन्न स्रोतहरुबाट जुटाउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here