टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने

44

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’ बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए । छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।

छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता वा नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत रहेको सिफारिसपत्र, आफू अध्ययन गरिरहेको कक्षाभन्दा तल्लो कक्षाको शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने सो नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here