घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला

130

दैलेख । जिल्लाको भैरबी गाउँपालिका–४ रिङगाटेमा घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार अन्दाजी ४० वर्षीय नरेश बिक जलेको अवस्थामा फेला परेका हुन् ।

प्रहरी निरीक्षक कार्कीका अनुसार जलेको अवस्थामा फेला परेका बिकले नै आफ्नै घरमा आगो लगाएका भनेर आफूलाई स्थानीयले खबर गरेका थिए। ‘शनिवार साँझ साढे सात बजे आफ्नै दुई तले तीन कोठा भएको कच्ची घरमा नरेश बिकले आगो लगाएको भन्नेबारे स्थानीयले टेलिफोनमार्फत हामीलाई जानकारी गराएका थिए, राती साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा ल्याईएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।

आफ्नै घरमा आगो लगाएर फरार रहेका भनिएका नरेशको जलेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो । आइतबार बिहान जलेको घरमा अन्य केही क्षति भएको छ कि भनेर खोजतलास गर्दा आधा शरीर घरको छानोले पुरिएको र जलेर मृत अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक कार्कीले बताए ।

घटनाबारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुडासहित ३ लाखबराबर क्षती भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here