काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-३ सिद्रालाईनस्थित सडकमा प्र.१-०२-००३ ह २६५५ नम्बरको टेम्पो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार धरान उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीया खिना लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुम्ला, पातारासी गाउँपालिका-६ कोट भिर भन्ने स्थानमा ग.१ ज ४०३५ नम्बरको जिप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल तिला नदीको किनारमा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा पातारासी गाउँपालिका-१ खालढिक बस्ने ४२ वर्षीया छोदेन लामाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य १५ जनालाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लातर्फ पठाइएकोमा २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १३ जनाको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















