काठमाडौं । प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा नेताहरू बोल्न थालेका छन्। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने लगायतले यस विषयमा चासो जताएका छन्।
तर, सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत भने प्रतिक्रियाविहीन छन्।
‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ’, कोइरालाले लेखेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमै अल्झिरहने?’
कांग्रेस महामन्त्री शर्माले उनको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन्। उनी भन्छन्, ‘दु:खी बनेर, श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति मिल्दैन! नीति बदलिएर पुगेन, थिती बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ। उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ। केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन।’
यसैगरी, डा बाबुराम भट्टराईले उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक रहेको बताउँदै गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। ‘सबैले बेलैमा गम्भीरतापूर्वक लिऊँ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ। आरोपप्रत्यारोप हैन, आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं!’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले आशा जगाउन नसकेकोमा माफी माग्दै आफूलाई समेत दोषी करार गरेकका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नुहोला।’
नेपाली कांग्रेसका नेता तथा सांसद् रामहरी खतिवडाले नेतृत्वप्रति चरम निराशा रहेको उल्लेख गर्दै समयमै सोच्नुपर्ने बताएका छन्। उनी भन्छन्, ‘देशमा आत्मदाह हुन थाल्यो, यो पनि सामान्य जस्तो हुन थाल्यो, राज्य र नेतृत्वप्रति चरम निराशा समयमै सोच्नुपर्ने छ।’
यसैगरी, कांग्रेस नेता गुरुराज घिमिरेले अभ्यासमा रहेको लोकतन्त्रले आत्मदाह गर्न बाध्य पारेको उल्लेख गर्दै सुसाइड नोटले राज्यको वास्तविक चित्रण गरेको बताएका छन्।
‘माफ गर्नुस् प्रेमजी, हामीले अभ्यास गरेको लोकतन्त्रले तपाईंलाई आत्मदाह गर्न विवश तुल्यायो। तपाईंको ‘सुसाईड नोट’ले राज्यको राम्रो चित्रण गरेको छ,जसले सत्ताधारीहरुलाई छोयो, छोएन थाहा भएन तर ट्युनिशियाका २८ वर्षे गरीब यूवा मोहम्मद बौउजीजी र अरब विद्रोहको सम्झना गरायो। तपाईंको आत्माले शान्ति पाओस्!’


















