रामललाको बालस्वरुप निर्माणका लागि ल्याइएको पत्थर जनकपुरधाममा

37

जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा स्थापित हुने भगवान रामललाको बालस्वरुप निर्माणका लागि कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल शिला(पत्थर)जनकपुरधाम राखिएको छ । जनकपुरधाममा शिला ल्याएपछि आज विशेष पूजा आरती गरिएको छ । सो क्रममा हजारौ व्यक्ति सहभागि भएका थिए । मन्दिर प्रागंणमा विहानैदेखि भरिएको थियो । भोलि विशेष पूजा पछि जनकपुरधामवाट अयोध्या लगिनेछ ।

नेपाल र भारतबीचको रामायणकालीन सम्बन्धलाई रामको मन्दिरमा स्थापित हुने प्रतिमाले अझ सशक्त बनाउने विश्व हिन्दू परिषद्का अन्तराष्ट्रिय मन्त्री राजेन्द्र सिंह पंकजले वताए । शिला लिन अयोध्यावाट अन्तराष्ट्रिय मन्त्री पंकजकै नेतृत्वमा विश्व हिन्दू परिषद्को टोली नेपाल आएको छ ।

भगवान शालीग्राम पाइने नेपालको एकमात्र कालीगण्डकी नदीबाट दुई थान शिला अयोध्या पठाउन लागिएको हो । अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ । लरीमा फलामको साङ्लाले बाँधेर यी दुई शिला अयोध्या पठाइदैछ । हिन्दु धर्मावलम्बीले रामलाई विष्णुको अवतार मान्छन् । उनका चार अवतारमध्ये पिपल, कुश, तुलसी र शालिग्राम मानिन्छ । रामको मूर्ति शालिग्राम पाइने कालीगण्डकीको ढुंगाबाट बनाउन उपयुक्त भएकाले यहाँबाट शिला लगिदैछ । यी ढुंगा छान्ने बेलामा सयभन्दा धेरै ढुंगा अवलोकन गरेर गुणस्तर परीक्षण गरिएको थियो ।

नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान रामको बालस्वरुप निर्माण गरिनेछ । शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले दिएको जानकारी अनुसार ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरुप राम मन्दिरको गर्भगृहमा रहने छ । ‘राम मन्दिरमा स्थापित हुने मूल स्वरुप नै नेपालको शिलाबाट तयार गरिनेछ’ उनले भने, दुईवटा शिलाबाट एकै साथ मूर्ति बनाइनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले हाम्रो सम्वन्ध युगोयुगसम्मका रहेकाले त्यसको झलक यो शिला रहेको वताए । राममन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ ।मन्दिर न्यास समितिले सार्वजनिक गरेको विवरण अनुसार मन्दिरको ४० सय खम्बामा गरी ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२०को ५ अगस्तमा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए । सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो । सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १ सय ३५ वर्ष लामो कानूनी लडाइ लडिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here