फागुनकाे पहिलाे हप्तामा अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन हुने

93

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ।आगामी फागुन २, ३ र ४ गतेका महाधिवेशनको मिति तय गरेकाे छ ।

अनेरास्ववियुको २२औं महाधिवेशन २०७२ सालमा भएको थियो। जसबाट नविना लामा अध्यक्षमा निर्वाचित भएता पनि अनेरास्ववियुको निर्वाचन हुन सकेको थिएन । तत्कालीन नेकपा कार्यकालमा ऐन महरलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो भने नेकपा विभाजनपछि सुनिता बराललाई अध्यक्ष पदमा मनोनित गरिएको थियो।

यस पटक अनेरास्ववियुलाई गुटरहित बनाउने भनिए पनि नेतृत्वका लागि विद्यार्थी नेताहरु शीर्ष नेताहरुको घरदैलो धाइरहेका छन्। कतिपयले सामाजिक सञ्जालमार्फत नै आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन्।

२३औं राष्ट्रिय महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका आकांक्षीहरु नै आधा दर्जन बढी देखिएका छन्। वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।

वरिष्ठ उपाध्यक्ष लामिछानेले सामाजिक सञ्जालमार्फत आफू अध्यक्षको दाबेदार रहेको जानकारी दिएका छन्। लामिछानेको फोटो ब्यानर समेत सार्वजनिक भइसकेको छ। ब्यानरमा लेखिएको छ, ‘झ्यालबाट होइन, अधिवेशनको हलबाट अखिलको नेतृत्वमा आउँछु। हाम्रो नेतृत्वमा फागुन पहिलो हप्ता एउटा ड्रिम टिमले विद्यार्थी आन्दोलनको बागडोर सम्हाल्ने भएकाेछ।’

अनेरास्ववियुको महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताउँदै लामिछानेले आफू अध्यक्षको एक्लो दाबेदार भएको जनाए । यसका साथै उपाध्यक्ष झपिन्द्र खत्रीले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी स्वभाविक रहने दाबी गर्दै आएका छन्।

उपाध्यक्ष लोकेश निरौलाले समेत अध्यक्ष पदमा दाबी गरिरहेका छन्। संगठन व्यवस्थित, जीवन्त, गतिशील, अनुशासित र पूर्ण लोकतान्त्रिक बनाउनका लागि आफ्नो उम्मेदवारी रहने निरौलाको भनाइ रहेको छ। साथै अध्यक्षका दाबेदार समिक बडालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘विधार्थी नेता हुनुको अर्थ पुरानो फोटोमा नयाँ पात्र थपिन होइन। हामी अनेरास्ववियुलाई ‘इनोभेसन’ र उधमशीलताको झन्डा बोक्ने आदर्श युवाहरु तयार गर्ने नर्सरी बनाउनेछौं।’

महासचिवमा अखिलको अध्यक्षमा जस्तै महासचिव पदका लागि पनि हानाथाप देखिएको छ। अनेरास्ववियुका हालका सबै उपमहासचिवहरु महासचिवका दाबेदार रहेका देखिन्छन्। उपमहासचिव नरेश रोकायाले महासचिव पदमा दाबी गरिरहेका छन्। उनका शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत अखिलको योद्धा, जिउँदो सहिद संघर्षको अर्को नाम नरेश भन्दै मत मागिरहेका छन्। त्यसैगरी सुदर्शन शिवाकोटी र गोविन्द गिरीले पनि आकांक्षा देखाएका छन्। अहिलेका उपमहासचिवहरु गोविन्द गिरी, भाष्कर खनाल, नारायण घर्ती र सचिव धर्म गिरीले महासचिवमा उम्मेदवारी दावी गरिरहेकाका छन्।

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदान गर्ने सम्झौता भएको छ। अध्यक्ष सुनिता बराल र राम-लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच विद्युतीय मतदान (भोटिङ मेसिन) प्रयोग गर्ने सम्झौता भएको हो। राम-लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गरिने जानकारी दिए। उनले निर्वाचनअघि भोटिङ मेसिनमा नमुना मतदान गरेर सिकाइने समेत बताएका छन्।

अनेरास्ववियुले महाधिवेशनलाई प्रविधिमैत्री र पेपरलेस बनाउने उद्देश्यसहित विद्युतीय मतदान प्रक्रिया अवलम्बन गरिने जनाएको छ। नेतृत्व सकभर सहमतिमा टुंग्याउने र सहमति नजुटेको अवस्थामा मात्रै भोटिङ मेसिनको प्रयोग गरी नेतृत्व टुंग्याउने तयारी छ। एक हजार सात सय बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनमा एक सय ९९ केन्द्रीय कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कुल दुई सय ४४ पदका लागि निर्वाचन हुँदैछ। अनेरास्ववीयुमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दस सचिव जसमध्ये ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन गर्ने भएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here