काठमाडौं । मोबाइल व्यवसायीहरुले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्दै मोबाइल व्यवसायी संघले गोंगबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ ।
अमूर्त आश्वासन भन्दा पनि ठोस प्रतिबद्धता चाहिएको भन्दै व्यवसायीहरुले अन्यथा देशैभरबाट व्यवसायीहरुको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले एक समिति बनाएर घटनाबारे अनुसन्धान गर्ने र उचित क्षतिपूर्ति दिलाउने आश्वासन दिएको संस्थाका अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।