काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारी संस्थाले निम्न वर्गीय जनतालाई ऋणमाथि ऋण बोकाएर रसातलमा पुर्याउने काम गरेको जनाएकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रबैंकले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्ने माग राखिन् । सुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय जनतालाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको लघुवित्त र सहकारी संस्थाहरू अत्यधिक मुनाफा कमाउन मात्रै केन्द्रित रहेको गौतमको आरोप थियो ।
देशको खस्कँदो अर्थतन्त्र, बेरोजगारी र महँगीका कारण ऋण लिनुपर्ने बाध्यताको लाभ उठाउँदै साहूहरू घरघरमै गएर विना धितो ऋणको प्रलोभन देखाउने गरेको उनको धारणा छ ।
‘आर्थिक शोषणमा परेका कतिपय ऋणीले ऋणको तनाव सहन नसकेर आत्महत्या बाध्य भइरहेका छन्,’ उनले भनिन्, ‘ऋण तिर्नै नसक्ने एउटै व्यक्तिलाई पनि दर्जनौँ संस्थाले ऋण दिएको पाइएको छ ।’

















