काठमाडौं । नेकपा (एमाले)बाट राष्ट्रपतिका उमेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।
बिहीबार एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै रास्वपा सभापति लामिछानेसँग भेट गरेको हो ।
यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको भन्दै उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्नेकुरा राखेको बताए ।
“संविधानसभा अध्यक्षको रुपमा र सभामुखको रुपमा सफल रुपमा भूमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ ।
राष्ट्रिय सहमति जसरी मुलुकले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसाबले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुकले कम नै पाउँछ, यो एउटा मौका हो भन्नेकुरा उहाँले गर्नुभयो,” सचिव भट्टराईले भने, “पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ । उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौँ कि राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ ।”
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताए ।
“पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन,” ढकालले भने, “केन्द्रीय समिति र संसदीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।”
महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन् गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्नेकुरामा आफ्नो पार्टी रहेको बताए । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उमेदवारहरु सांसदहरुलाई भेट्नेक्रममा व्यस्त छन् ।


















