देउवाको चाकडी गर्नु ओली र प्रचण्डको नियति !

31

–निमकान्त पाण्डे

भनिन्छ, राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र हुँदैन । तर, पछिल्लो केही वर्षयताको नेपाली राजनीतिक परिवेशलाई हेर्ने हो भने यो उक्तिमा ‘राजनीतिमा कुनै इमान वा नैतिकता हुँदैन, लाजशरम त झन् परको कुरा हो’ भन्ने अंश थप्नुपर्ने भएको छ ।
डेढ दशकयता नेपाली राजनीतिमा सत्ताका लागि देखिएको खिचातानीका कारण राजनीतिक दल र तिनका नेतृत्वले जनविश्वास गुमाउँदै गएकाले पनि यो नयाँ उक्ति चरितार्थ हुँदै गएको हो । यसको ताजा उदाहरण केही महिनायता मात्र दलहरुबीच बनेका दुई गठबन्धनलाई लिन सकिन्छ ।
दुई महिनाअघि कांग्रेस र माओवादी केन्द्रबीच सत्ता भागबण्डामा विवाद भयो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूलाई चाहिने भन्ने कांग्रेसको अडानका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको साथ लिँदै प्रधानमन्त्री बन्न सफल भए । यससँगै तत्कालीन नेकपा विभाजन भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलगायत दलको गठबन्धन पनि विधिवत् रुपमा अन्त्य भयो ।
प्रधानमन्त्री बन्न प्रचण्डले एमालेसँग राष्ट्रपति पद दिने र सभामुख तथा सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति गरेका थिए । तर, दुई महिनामै यो गठबन्धन टुटेको छ । यसको कारण हो, राष्ट्रपति निर्वाचन । एमालेलाई राष्ट्रपति दिँदा भविष्यमा आफूमाथि कुनै अप्ठ्यारो पर्छ कि भन्ने आशंका कारण र आफूलाई कांग्रेसले विश्वासको मत दिएका कारण प्रधानमन्त्री प्रचण्ड दुई महिनाअघिको धोका बिर्सिंदै फेरि कांग्रेससँग सहकार्य गर्न पुगेका छन् । यसका कारण एमालेसँग गरेको सहमतिलाई उनले लत्याएका त छन् नै फेरि मुलुकलाई अस्थिरताको चक्रव्यूहमा पनि पारेका छन् ।
यसले देशमा दुई दुर्भाग्यपूर्ण अवस्था सृजना गरेको छ । पहिलो हो, कम्युनिस्ट दलरुबीच तिक्तता । सिद्धान्त तथा उद्देश्यगत रुपमा समान रहेका कम्युनिस्ट पार्टीहरुको विगतको इतिहास हेर्ने हो टुटफुटको श्रृंखला चलिरहेको छ, जुन देशका लागि कुनै पनि हालतमा सुखद होइन । कम्युनिस्ट दलहरुबीच एकता र सहकार्यले कम्युनिस्ट आन्दोलनलाई सार्थकता दिन्छ, सफलता दिलाउँछ । साथै, सर्वहारा वर्गका लागि एक भएर लड्न र विकास गर्न सहायता पु¥याउँछ । यसका लागि पछिल्लो समय नेकपा दल समेत बनेको थियो । जसलाई ठूलो विश्वास गरेर जनताले करिब करिब दुई तिहाई मत समेत दिएका थिए । यसको अर्थ कम्युनिस्ट दलहरु फुटेर हैन जुटेर अघि बढ्नुपर्छ भन्ने जनताको सन्देश थियो । तर यो सन्देशलाई कम्युनिस्ट नेतृत्वले बुझ्न नसक्दा छोटो समयमा नै पार्टी विभाजन भयो । कम्युनिस्ट पार्टीले जनताको भरोसा पनि गुमाएका छन् । अर्कोतर्फ कांग्रेस जस्तो विचार र सिद्धान्त नमिल्ने दलसँग सहकार्य गर्नुपर्ने अवस्थामा माओवादी केन्द्र लगायतका दल पुगेका छन् । जुन गठबन्धनलाई अप्राकृतिक भन्दै जनताको विश्वास पनि प्राप्त हुन सकेको छैन ।
दोस्रो हो, अस्थिर गठबन्धन र राजनीति । गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कुनै पनि दलले बहुमत हासिल गर्न सकेनन् । कांग्रेस र एमाले मिलेको खण्डमा मात्र दुई दलको सरकार गठन सम्भव हुने भयो । यी दुई दलले अन्य दलसँग मिल्नुपरेमा सरकार गठनका लागि थुप्रै दलको गठबन्धन आवश्यक हुने देखियो । यस्तो अवस्था आउनुले ५० को दशकमा जस्तो अस्थिर सरकार हुने आशंका गरिएको थियो । त्यतिबेला अस्थिर सरकार कारण छोटो समयमा सरकार ढल्ने र गठन हुने विकृति देखापरेको थियो । त्यति बेला नै सांसद अपहरण, सुरासुन्दरी काण्ड भएका थिए । नेपाली राजनीतिका लागि दुर्भाग्यपूर्ण रहेको त्यो कालखण्ड अब फेरि दोहोरिएला कि भन्ने आशंका बढेको थियो । जुन अहिले सत्य साबित हुँदै गएको छ ।
पछिल्लो समयमा नै दलहरुबीच गठबन्धन फेरबदलको श्रृंखला चलेको छ । यसले दलहरु जनता हैन, सत्ता केन्द्रित छन् भन्ने फेरि पुष्टि गरेको छ ।
यसका कारण अबको पाँच वर्ष फेरि सरकार ढाल्ने र नयाँ गठन गर्ने प्रयासमा दलहरु लाग्ने देखिएका छन् । यसबीचमा आफ्नो गठबन्धनमा तान्न दल तथा तिनका नेतृत्वले कुन हदसम्म भूमिका देखाउने छन्, त्यो त आगामी दिनमा नै देखिनेछ । केही महिनाअघि मात्र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमालेसँग सहकार्य गर्न पुगेका प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनाएका थिए । त्यसबीचमा सहमति अनुसार प्रचण्डले एमालेबाट सभामुख बनाउनका लागि सघायो पनि । तर राष्ट्रपति चयनमा भने प्रचण्डले एमालेसँगको सहमति लत्याउँदै कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन सघाउने भएका छन् । कांग्रेस सभापति देउवाले पनि एमाले अध्यक्ष ओलीलाई राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न आग्रह गदै मित्रताको हात अघि बढाएका छन् ।
देउवा अझै पनि प्रधानमन्त्री बन्न आकांक्षी छन् । त्यसैले राष्ट्रपतिमा आफू नभई वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि बढाएका छन् । ओलीलाई पठाएको पत्रअनुसार पनि भविष्यमा देउवा–ओलीबीच सहकार्य हुनसक्ने सम्भावना छ । देउवाले कांग्रेसले राष्ट्रपति पाइसकेपछि माओवादीलाई छोडेर ओलीसँग हात मिलाउन पनि सक्छन् । यसले कांग्रेसले त लाभैलाभ पाउने देखियो ।
त्यसका लागि देउवाले ओली र प्रचण्डलाई मोहोरा बनाउने देखिएको छ । यस्तो हुनुका कारण हो, कम्युनिस्ट दलको नेतृत्व लिएर पनि ओली र प्रचण्डबीच सहकार्य र विश्वास नहुनु । अब दुवै कमरेडहरु मनन गर्नुपर्ने बेला आएको छ, देउवाको चाकडी मात्र गरिरहने कि गल्तीलाई सच्याएर सहकार्य गर्ने ! आगे मैमत्त भएका दलका नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here