काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी अभियोगमा पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दायर गरेको रिट मंगलवार दर्ता भएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । ज्ञानेन्द्र आरणको रिट दर्ता भएको र अन्य द्वन्द्वपीडितहरूको रिट दर्ताको प्रक्रियामा रहेको उनले जनाए ।
यसअघि प्रशासनबाट दरपीठ भएको रिट सर्वोच्चले शुक्रवार दिएको आदेशबमोजिम दर्ता भएको हो । प्रचण्डले गत वर्ष आयोजित एक कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका ५ हजार व्यक्तिको जिम्मा आफूले लिने भनी दिएको अभिव्यक्तिलाई प्रमाण मानेर उनलाई कारबाही हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।
यता नेकपा (माओवादी केन्द्र)सहित पूर्वमाओवादी घटकहरूले भने द्वन्द्वकालीन मुद्दालाई शान्ति सम्झौताको मर्मअनुसार टुंग्याउनुपर्ने माग गरेका छन् । शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिलाई संयुक्त रूपमा प्रतिवाद गरेर अगाडि बढ्ने उनीहरूको अठोट छ ।


















