प्रधानमन्त्रीविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी

36

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै उक्त आदेश गरेको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दाका विषयमा १५ दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश गरेको छ।यस्तो जवाफसहित प्रधानमन्त्री आफैं वा वारेसमार्फत् उपस्थित हुन आदेश दिएको हो। सुनुवाइमा पक्षका कानुन व्यवसायीले संक्रमणकालीन न्यायमा भइरहेको ढिलाई र हत्याको जिम्मा लिएको व्यक्ति प्रधानमन्त्रीको पदमा बस्न नमिल्ने दाबी इजलासमा पेस गरेका थिए।
दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएको मानिसको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि प्रचण्ड विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले उनीविरुद्ध रिट दायर गरेका हुन्। उनीहरूले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने मागसहित रिट पेस गरेका थिए। तत्कालीन समयमा अदालत प्रशासनले दरपिठ गरेको थियो।
दरपिठविरुद्ध दिइएको निवेदनमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले दर्ता गर्न आदेश गरेको थियो। सर्वोच्चमा मुद्दा अघि बढेपछि सरकारले हतार हतार वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको संशोधन विधेयक दर्ता गराएको छ। बिहीबार नै उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here