काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् । ‘नारी नेपाल अनलाइन पत्रिका’ को आज उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन् ।
मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररुपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषयवस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्ने जनाइन् ।
सञ्चारमन्त्री शर्माले अहिलेको समय बजेटका निम्ति नीति कार्यक्रम बनाउने भएकाले सञ्चार मन्त्रालय र आमसञ्चार क्षेत्रलाई महिलासँग जोडेर उपयुक्त नीति तथा कार्यक्रम बनाउने विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिइन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने विश्वास व्यक्त गरिन् । सूचना प्रविधिको विकास, पुहँचमा र महिला सहभागिता कसरी बढाउने भन्नेबारे नीतिगत सुधार जरुरी रहेको मन्त्री शर्माको भनाइ छ ।
मन्त्री शर्माले आम सञ्चार ऐन बनाउने क्रममा विज्ञ सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै आमसञ्चार ऐन महिलामैत्री बनाउन पहल गर्ने बताइन् । महिला सशक्तिकरणका साथै क्षमता भएर पनि अवसर नपाएका महिलाको वकालत गर्न मिडियाले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।


















