काठमाडाैं । एनआईसी एसिया बैंकले सोसाइट म्यागरबाइन डी मन्टिक (एस२एम) सिस्टमसँगको सहकार्यमा आफ्नै पेमेन्ट स्विच (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (ईएफटी) पेमेन्ट स्विच) सञ्चालनमा ल्याएको छ।
बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको हो। डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो।
यस स्विचको मद्दतले यस बैंकका पस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तराबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्नेछ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहकहरुमाझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पु¥याउन मद्दत पुग्ने हुँदा उनीहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिष्कृत बनाउन उक्त स्विच कोशेढुंगा साबित हुने बैंकले विश्वास लिएको छ। एन आई सी एशिया बैंक मुलुकमा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ।

















