कास्की । पोखरामा सञ्चालन भएको बलियो नेपाल कप अण्डर–१९ क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई सात विकेटले हराउँदै स्टार एकेडेमीले उपाधि आफ्नो पोल्टामा पारेको हो।
च्याम्पियन बनेको स्टारले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता कर्णालीले २५ हजार रुपैयाँ पुरस्कार पायो। खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्र जोड्न सफल भयो। जितका लागि ७३ रनको लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीले नौ ओभरको पाँच बलमा तीन विकेट गुमाउँदै पूरा गर्न सफल भयो।
स्टारका लागि सुमित पराजुली चार ओभर बलिङमा १७ रन खर्चिंदै तीन विकेट लिन सफल भए। यसैगरी शुभम खनालले दुई तथा कप्तान अमर मिश्र, निर्मल गुरुङ र महेश भरले समान एक\एक विकेट लिए। स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए। कप्तान अमर मिश्रले नौ बलमा २२ रन बनाए। बलिङतर्फ कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान एक/एक विकेट लिन सफल भए।
फाइनलको ‘प्लेयर अफ द म्याच’ स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल घोषित भए। उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याट्सम्यान विराट सिंह भण्डारी घोषित हुँदै जनही सात हजार रुपैयाँ पुरस्कार पाउन सफल भए।
‘प्लेयर अफ द सिरिज’ स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्रले रु १० हजार पुरस्कार प्राप्त गरे। विजयी टोली तथा खेलाडीलाई सांसद सोविता गौतम लगायतले पुरस्कार वितरण गरे। बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभले ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यही चैत २१ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाएका थिए। rss


















