कामपाले आफ्ना विभागहरु सार्न थाले

35

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना विभागहरु सार्न थालेको छ । महानगरको प्रशासन विभागले सुन्धाराको जेडिए कम्प्लेक्समा भएका कक्षहरु भत्काएर काठमाडौं प्लाजामा सार्न थालेको जानकारी दिएको छ ।

कम्प्लेक्सको छैठौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौं तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइको पार्टेशन खोल्ने काम अघि बढेको महानगरले जनाएको छ ।

‘बुधबारदेखि काम थालिएको हो । आज सबै ‘पार्टेशन’ खोलिएको छ’, प्रशासन विभागका प्रमुख एवम् महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले भने,‘सेवा नरोकिने गरी काम गर्छौं । हामीले शनिबार पनि कर्मचारी बोलाएका छौं । सार्ने काममा नगर प्रहरी परिचालन गरेका छौं ।’

पहिले प्रयोग गरिएका सामानलाई टुटफुट हुनबाट बचाएर कम्प्लेक्सबाट निकालिएको उनको भनाइ छ । सोही सामानको प्रयोग गरेर काठमाडौं प्लाजामा कक्ष निर्माण गर्ने योजना महानगरको छ ।

कम खर्चमा कार्यालय सार्ने काम भइरहेको उनले जानकारी दिए । २०७२ को महाभूकम्पमा केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरुलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको छ ।

गत चैत ८ गते महानगरले नेपाल ट्रष्टसँग सम्झौता गरेर १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको हो । सम्झौताअनुसार ५ वर्षपछि १० प्रतिशतले बहालवृद्धि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here