नेपाल र नाउरुबीच कूटनीतिक सम्बन्ध स्थापना

33

काठमाडौं । नेपालले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध कायम राखेका मुलुकको सङ्ख्या १७९ पुगेको छ। नेपाल र गणतन्त्र नाउरुबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएसँगै द्विपक्षीय सम्बन्ध कायम भएका मुलुकको सङ्ख्या १७९ पुगेको हो। नाउरु भौगोलिक रूपमा विश्वको सबैभन्दा सानो मुलुकमध्येको तेस्रो मुलुक हो।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नाउरुका स्थायी प्रतिनिधि तथा राजदूत मार्गो रेमिनिसे देईले न्युयोर्कस्थित स्थायी नियोगमा आयोजित एक समारोहमा संयुक्त हस्ताक्षर गरेपछि दुई देशबीच द्विपक्षीय सम्बन्ध कायम भएको हो। शुक्रबार आयोजित समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारेमा जानकारी गराउने संयुक्त पत्रमा पनि उहाँहरूले हस्ताक्षर गर्नुभयो।

सो अवसरमा दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा दुई देश र जनतालाई एकताबद्ध गराउन कूटनीतिक सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले भविष्यमा पारस्परिक सहयोगको दायरालाई अझ फराकिलो बनाउन सकिने विभिन्न सम्भावनाका विषयमा धारणा आदानप्रदान गर्नुभयो।

नाउरु अस्ट्रेलियाको उत्तर–पूर्वमा अवस्थित प्रशान्त महासागरमा रहेको अण्डाकार आकारको टापु गणतन्त्र हो। यो देशको २४ वर्गकिलोमिटर कुल क्षेत्रफलमा लगभग १२ हजार

जनसङ्ख्या रहेको छ। जनसङ्ख्याका हिसाबले संयुक्त राष्ट्रसङ्घको सबैभन्दा सानो सदस्य मुलुक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here