काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् ।
उनले पहिला पनि मस्यौदा तयार भई मन्त्रीपरिषद्मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए ।
उनले भने, ‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रीपरिषदमा पुग्दै फिर्ता आउने गरेको रहेछ । अहिले पनि यो प्रक्रियामा छ, यो कानुन मन्त्रालयमा छ । हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ । तर्जुमाका दृष्टिकोणबाट भएका कमीहरू हटाउने सिलसिलामा कानुन मन्त्रालयले हेर्नुपर्ने त्यहाँ अलि समय लागिरहेको छ, धेरै कानुनहरू प्रक्रियामा रहेकाले हुनसक्छ । यो जारी अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ । विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्थामा अहिले समिति सचिवले दिनुभएको तथ्याङ्क भयावह छ । यो मनोपरामर्श सम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढङ्गले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्याङ्कन गर्ने प्रक्रिया चलिरहेको छ, त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ ।’
मन्त्री राईले विश्वविद्यालयहरूको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको बताए ।

















