रुसले नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव माग

69

काठमाडाैं । रुसले रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका बीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चासो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो । रुसले विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रवृत्तिको कोटा बढाउनेसम्मका परियोजना रहेका छन् ।

अध्यक्ष तिमिल्सिनाले गएको वैशाख ६ देखि ११ गतेसम्म गर्नुभएको रुस भ्रमणका क्रममा रुसको उपल्लो सदन फेड्रल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोका बीचमा भएको छलफलमा विभिन्न परियोजना अघि बढाउने विषय उठेका थिए । नेपालमा रहेको रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई मे ४ मा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरू अघि बढाउन आग्रह गरेको छ ।

रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र काठमाण्डौमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीय स्थल पोखरादेखि नजिकका पर्यटकीय स्थलहरूलाई जोड्ने पोखरा–रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ । पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा–रिडी सडकको लागत झन्डै चार अर्ब रुपैयाँ रहेको छ । अध्यक्ष तिमिल्सिनाको प्रस्तावअनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखाएको छ । यो सडक पोखराको पामेबाट पर्वतका छ वटा पालिका हुँदै गुल्मीको रिडीसम्म पुग्ने दोहोरो साइकल लेनसहित निर्माण गरिने छ ।

यसैगरी काठमाण्डौ र पोखरामा दुई वटा बालबालिकाको क्यान्सरसम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चासो देखाएको छ । त्यो अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टरहरू उपलब्ध गराउने र त्योसम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ । अहिले नेपालबाट वार्षिक १८ जना विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा चिकित्सा र इन्जिनियरिङ विषय अध्ययनका लागि वार्षिक एक सय ५० देखि दुई सय जना विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराउन खोजेको छ ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्को बीच भएको छलफलमा नेपालमा ुजीटूजीु मार्फत रासायनिक मल र गहुँ निर्यात गर्न रुसले चासो देखाएको थियो । रुसले रासायनिक मल र गहुँबाहेक पेट्रोलिय पदार्थ पनि प्रत्यक्षरूपमा उपलब्ध गराउने प्रस्ताव मागेको छ । यस्तै रुसले नेपालसँग मस्कोबाट सिधा हवाई उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने गाडीहरूको बिक्री गर्न पनि चासो राखेको छ । अध्यक्ष तिमिल्सिनाको निम्तो स्वीकार्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिट्टै नेपालको भ्रमण गर्न प्रस्ताव पनि पठाउनुभएको छ ।

रुसी प्रस्तावका बारेमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा। प्रकाशशरण महत, कृषिमन्त्री डा। बेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राई, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बुलाई समेत परियोजना कार्यान्वयन गर्नका लागि प्रस्ताव तयार गर्न आग्रह गर्नुभएको छ । सरकारका तर्फबाट सबै मन्त्रालयले प्रस्ताव तयार गरेर पठाउने क्रम समेत सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here