निगमले स्मिथ विमानस्थलमा उडानका लागि अनुमति पायाे

21

काठमाडाैं । नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीस्थित किङ्सफोर्ड स्मिथ विमानस्थलमा उडानको स्लट अर्थात् समय पाएको छ।

किङ्सफोर्ड स्मिथ विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले बताएको छ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो।

यसका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया अगाडी बढाएको छ। यसका साथै जहाजमा सवार गर्न यात्रुलाई खाजा–नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रिया समेत अगाडी बढाएको निगमले बताएको छ।

त्यस्तै, निगमले सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको छ।

सिंगापुर र सिड्नी विमानस्थलको लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ। निगमले वाइडबडीबाट अष्ट्रेलियाको सिड्नी उडानको तयारी गरेको हो।
नेपालको पर्यटन प्रवर्द्धन तथा शैक्षिक आदानप्रदानका निम्ति यो उडान निकै प्रभावकारी हुने अपेक्षा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here