हुप्सेकोटमा राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा

68

कावासोती । नवलपरासीको हुप्सेकोट गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा पुगेको छ । वडामा पहिलो पटक विद्धुत सेवा पुगेपछि स्थानीय खुसी छन् । केही घरमा सोलार र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आउनुभएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले वडा अँध्यारोमुक्त भएको छ ।

हुप्सेकोटका स्थानीय जीव बहादुर सिंजाली भन्नुहुन्छ, “धन सम्पत्ति हुँदा मन उज्यालो भएजस्तै विद्युत् पुग्दा घर नै उज्यालो भएको छ, धेरै खुसी छौँ ।”

गाउँमा विद्युत् सेवा पुग्दा नयाँ युगमा पुगेको महसुस भएको सिंजालीले बताउनुहुन्छ । उज्यालो हुप्सेकोट अभियानअन्तर्गत गाउँपालिकाभित्रका सबै बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुर्‍याउने योजनाअन्तर्गत हुप्सेकोटका विकट भनेर चिनिने रुम्सी, चारघरे र रिदाहामा गरी एक सय ६५ घरमा राष्ट्रिय प्रसारण लाइन विद्युत् विस्तार गरिएको हो  ।

हुप्सेकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष पदम बहादुर राणाले भन्नुभयो, “गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुपर्‍यो र बिजुली गाउँमा आएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्रीहरू चलाउने गरिएको छ ।”

“एक सय ६५ घरधुरीमा टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको हुन्थ्यो, यस्तो विकट ठाउँमा बिजुली आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस मैँले र हाम्रो समाजले गरेको छ ।  बजारभन्दा टाढा रहेको उक्त बिजुलीको अभावमा अँध्यारो रहेको बस्तीमा नेपाल विद्युत प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो,” राणाले भन्नुभयो ।

स्थानीय मनमाया कानुङले गाउँमा पहिलो पटक विद्युत् सेवा पुग्दा आफ्ना दैनिक कार्यमा सहज हुनुको साथै टुकी बत्ती बालेर बस्नुपर्ने बाध्यता हट्दा खुसी व्यक्त गर्नुभयो । झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने र सहर बजारबाट आउने आफ्ना आफन्त, ईष्टमित्रहरुलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले खुसीयाली छाएको कानुङले बताउनुभयो ।

“हामी यहाँबाट देखिने तलका गाउँमा बिजुली बलेको देख्दा हामी पनि कहिले यसरी बाल्न पाउँला भनेर सोच्थ्यौँ, अब हाम्रो सपना साकार भएको छ,” वडा अध्यक्ष राणाले भन्नुभयो ।

गण्डकी प्रदेशको विशेष संरक्षित क्षेत्रअन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिकामा उज्यालो हुप्सेकोट कार्यक्रम सङ्घीय सरकारको १० करोड, प्रदेश सरकारे साढे तीन करोड र हुप्सेकोट गाउँपालिकाको साढे २ करोड लागतमा कार्य भइरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here