सिमकोट गाउँपालिकामा विद्यार्थी भर्ना दर शतप्रतिशत

23

हुम्ला । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको विद्यालयमा विद्यार्थी भर्नादर शत प्रतिशत रहेको पाइएको छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रको भर्नाका लागि विद्यार्थी भर्ना कार्यक्रमलाई घर-घरमा पुगेर अभियानका रूपमा सञ्चालन गरेपछि सबै वडाको सम्पूर्ण विद्यार्थीहरूले विद्यालयमा आफ्नो भर्ना गरेको पाइएको हो ।

गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यले यस शैक्षिक सत्रमा गाउँपालिकाको विद्यार्थी भर्ना दर शतप्रतिशत रहेको बताउनुभयो । जब कि गत वर्ष सिमकोट गाउँपालिकाको विद्यार्थी भर्ना दर ९४ प्रतिशत रहेको थियो । उहाँले कोही विद्यार्थीहरू विद्यालयमा भर्नाबाट नछुटुन भनेर विशेष घरदैलो अभियान सञ्चालन गरेको कारण यो उपलब्धि हाँसिला गर्न सफल भएको बताउनुभयो ।

गाउँपालिकाका सबै बालबालिकाहरूलाई विद्यालयमा भर्ना अभियान सञ्चालन गर्नका लागि शाखाले विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक, जनप्रतिनिधिहरू परिचालन गरेको थियो । नायब सुब्बा आचार्यले सिमकोट गाउँपालिकाका आठ वटा वडाका २९ वटा बस्तीमा गरि चार हजार १४५ जना विद्यार्थीहरू रहेको र उहाँहरू सबै विद्यालयमा भर्ना भएको बताउनुभयो ।

विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको तहगत विवरण अनुसार बाल विकास केन्द्रमा ६४७ जना विद्यार्थीहरू रहेका छन् भने प्राथमिक तह कक्षा एक – पाँचमा एक हजार ६०२ जना, आधारभुत तह कक्षा छ आठमा ८३५,  कक्षा नौ र दशमा ५९८ जना र कक्षा ११ र १२ मा ४६२ जना विद्यार्थीहरू भर्ना हुनु भएको छ । गाउँपालिका अध्यक्ष विजय भण्डारीले विद्यार्थी भर्ना दर हालसम्ममै उत्कृष्ट रहेको र यसलाई आगामी दिनमा पनि जोगाई राख्न चुनौती हुन सक्ने भएको कारण यसतर्फ सबै निकाय सचेत रहनु पर्ने बताउनुभयो ।

भर्नादरबाट निक्कै आभारी रहेको बताउदै अध्यक्ष भण्डारीले अब कोही पनि विद्यार्थीहरुलाई विद्यालय छोड्ने पक्षमा सचेत रहन विद्यालय परिवार र जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । सिमकोट गाउँपालिका २६ वटा बालबालिका, कक्षा एक देखि बाह्रसम्म २१ वटा सामुदायिक विद्यालय रहेका छन् भने चार वटा संस्थागत विद्यालय रहेका छन् ।  राजन रावत गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here