काठमाडौं । कवि एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन्।
मंगलवार मधुपर्क मासिकको ५६ औं वार्षिकोत्सवमा बोल्दै काइँलाले यस्तो बताएका हुन्। उनले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताए।
उनले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताए। उनले लेखकले ५० वर्षपछि एकपटक पाउने पुरस्कारमा आयकर काटेर पुरस्कार दिन नहुने बताए। उनले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे।
उनले अहिलेसम्म आफूले पाएका पुरस्कारमा तोकेबमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थाहरूले अब विचार गर्नुपर्ने बताए। उनले पुरस्कार घोषणा भए बमोजिमको पुरस्कार पाउनुपर्ने बताए। उनले अब सरकारलाई लेखकहरूले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गरे।
उनले कुनै पत्रिकाले लेख छापे ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताए। उनले यो अवस्थाबाट आम नेपाली लेखक पीडित रहेको बताए। उनले नेपाली लेखकहरूले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको बताए।
उनले भने, ‘लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्न चिज हुन्। पारिश्रमिक नियमित हुन्छ। त्यसमा कर लाग्दा हुन्छ। पुरस्कार भनेको फाटफुट पाइन्छ। २० वर्षमा पछि समेत पाइन्छ। अनि केको पुरस्कारमा कर लगाउनु पर्यो। मैले अहिलेसम्म धेरै पुरस्कार पाएँ तर कुनै पनि संस्थाले तोकिएको आयकर कट्टा गरेनन्। सरकारलाई लेखकले कर कति दिनुपर्ने हो। १५ प्रतिशत वा २५ प्रतिशत हो। कुनै पत्रिकाले लेख ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ। यो अवस्थाबाट लेखक पीडित छन्। लेखेर ठूलो रकम पाइन्न भन्ने नेपाली लेखकलाई थाहा छ। त्यसैले जति दिए पनि उनीहरूले लिन्छन्।’
मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ।
गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टालाई सम्मान प्रदान गर्दै आएको छ। मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ।

















