काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको छ।
गत आइतबार सचिवस्तरीय निर्णयबाट सोमबार मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई एकमुष्ट पत्राचार गरेको हो। ‘मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको प्रमाणित विवरण १५ दिनभित्र मन्त्रालयको संघीय मामिला तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा उपलब्ध गराइदिनुहुन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ।
तर, यसको प्रयोजन भने पत्रमा उल्लेख छैन । सरकारले यही १५ जेठमा ल्याएको आगामी आवको बजेटमा दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ । बजेटमा सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आवमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने तथा सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउने उल्लेख छ । यसका लागि सम्बन्धित मन्त्रालय र निकायले आगामी मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्नुपर्ने व्यवस्था बजेटले गरेको छ।
सरकारले चालू आवको बजेटमार्फत संघमा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरे पनि त्यो भने कार्यान्वयन हुन सकेन।

















