वर्षा भएपछि कृषकहरूलाई गर्मीबाट राहत

22

चितवन। लामो समयपछि सोमबार र मङ्गलबार बिहान उज्यालो हुनुपूर्व भएको वर्षाले गर्मीबाट केही राहत मिले पनि कृषकका लागि भने यो ‘मरेपछिको औषधी’ जस्तै भएको छ ।

लामो समयको खडेरीले अन्नबाली विशेष गरी मकै खेती गर्ने चितवनका कृषक यति बेला चिन्तित छन् । मकैको बोट पूरै आगो लाग्ने गरी सुकेको अवस्थामा आएकाले यो पानीले उनीहरूलाई कुनै राहत दिन सकेन ।

अर्गानिक कृषिका अभियन्ता भरतपुर–१५ का कृषक चन्द्रप्रसाद अधिकारीलाई यस्तो खडेरी यसअघि कहिल्यै परेको थाहा छैन । उहाँ भन्नुहुन्छ, “२०३६ सालमा लामो समय पानी नपर्दा चितवनका अधिकांश खेतमा रोपाइँ हुन सकेको थिएन तर यस्तो प्रकारको मकै खेती पूरै मर्ने अवस्था भने त्यो बेला पनि भएको थिएन ।” अधिकारीले आफूले लगाएको १५ कट्ठा जमिनको एक पुट्को मकै पनि देख्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही सिँचाइ व्यवस्था भएका ठाउँमा उत्पादन के होला भन्न सकिन्न तर हरिया बोट देखिएका छन् । हाम्रो त खेतबिचमै नहरको क्यानल छ तर पानी नभएपछि मकै सबै म¥यो ।” मकैको बिउ उत्पादक कृषक मित्रराज दवाडीका अनुसार यस पटकको खडेरीले बिउको उत्पादनमा पनि समस्या भएको छ । उहाँ भन्नुहुन्छ, “सिँचाइ छ तर खडेरीका कारण २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ । अझ अब उत्पादन लिने अवस्थामा रहेको बोटमा योभन्दा पनि कम उत्पादन हुने लक्षण देखिएको छ ।” यस किसिमको खडेरी यसअघि कुनै पनि समय आफूले थाहा नपाएको उहाँ जनाउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here