असार ४ देखि मुख्यमन्त्री कप फुटबल हुने

46

इलाम । आगामी असार ४ गतेबाट तेश्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा असार ९ गतेसम्म फुटबल प्रतियोगिता गर्ने भएको हो।  बुधबार सुनसरीको इटहरीमा बोर्ड पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको छ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहनेछ। जिल्लाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिकामा रहेको खेलमैदानमा प्रतियोगिता हुने वाग्लेले बताए।

ओखलढुंगामा पहिलोपटक हुन लागेको प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा पाउनेछ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले जनही ५ हजार रुपैयाँ र ट्रफी पाउने छन्।

प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर ३०० जना ओखलढुंगा पुग्ने बोर्डले जनाएको छ। प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको सदस्य सचिव वाग्लेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here