काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।
बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

















