लमजुङ । दोर्दी करिडोरबाट १२६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट उक्त बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा खेर जाने गरेकोमा गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा बिजुली जोडिएको हो।
उनले भने, ‘हालसम्म दोर्दी खोलामा निर्माण सम्पन्न चार आयोजना र चेपे खोलामा निर्माण सम्पन्न जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।’
पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला‚ लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र ८.८३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्।
ती आयोजनामध्ये यो करिडोकै सबैभन्दा ठूलो आयोजना सुपर दोर्दी ‘ख’ आयोजनाले गत महिनाबाट मात्र व्यावसायिक रूपमा बिजुली उत्पादन गरेको छ। आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमका अनुसार विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो।
विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ। सुरुआतमा आठ अर्ब ८० करोड रुपैयाँ लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोडसम्म खर्च भएको छ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। कुल ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धनको लगानी रहेको छ। आयोजनामा प्रभावित स्थानीयवासीले रु. २७ करोड लगानी गरेका छन्।
त्यसैगरी २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै आएको छ।
विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको उक्त आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो। आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत,आइएमई ग्रुपको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए।
नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। आयोजना निर्माणमा रु. चार अर्ब ८३ करोड लगानी भएको छ।
त्यसैगरी २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साताअघि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। आयोजनाका प्रवर्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो। तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो। आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो।
विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालू आवमा मात्रै सम्पन्न भएको थियो। आयोजना निर्माणमा रु. चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ। त्यसैगरी दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२.१ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ।
विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो। आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँचवटा बैंकले ऋण लगानी गरेको यो आयोजनामा रु. दुई अर्बभन्दा बढी लगानी भएको छ।
त्यसैगरी चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना सन् २०१३ जनवरीबाट निर्माण थालनी गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन थाल्दै आएको छ।
करिब रु. १६ अर्बमा निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन थालेको यो आयोजना चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाल चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ। माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको थियो।


















